घर बनाउनभन्दा पुस्तक छाप्न गाह्रो छ : डा. सत्यराज थपलिया

साहित्यकार डा. सत्यराज थपलियासँगको विशेष अन्तर्वार्ता

डा. सत्यराज थपलिया

रसुवा खबर · वर्ष १, अंक २ · २०६७ असोज २३ गते शनिवार

सत्यराज थपलिया रसुवा र नुवाकोटका लागि नयाँ नाम होइन। साहित्यको विकासका लागि मरिमेट्ने व्यक्ति, उहाँको उमेरको ठूलो हिस्सा रसुवा मै बित्यो। वि.सं २००४ साल बैशाख १४ गते पिता कोशराज र माता लीलावती थपलियाको कोखबाट नुवाकोट जिल्ला थान्सिङ गाविस वडा नं १ मा जन्मिएका डा. सत्यराज थपलिया हाल जिल्ला आयुर्वेद कार्यालय रसुवामा कार्यरत हुनुहुन्छ। विभिन्न जिल्लाको सेवा गर्दै पटक-पटक रसुवामा सेवा गर्दै आउनु भएका थपलिया साहित्य क्षेत्रमा पनि तल्लीन हुनुहुन्छ।

प्रस्तुत छ: साहित्यकार डा. थपलियासँग यस साप्ताहिकका प्रेमप्रसाद पौडेलले गरेको कुराकानीको मुख्य अंश :

तपाइँ कहिलेदेखि साहित्य सिर्जनामा लाग्नुभयो ?
वि.सं २०१३ सालमा जब म तेह्र वर्षको थिएँ। त्यसैबेलादेखि नै म साहित्यमा रूचि राख्थेँ।

साहित्य सिर्जनामा लाग्ने प्रेरणा कहाँबाट मिल्यो र कसरी सुरु गर्नुभयो ?
मलाई कौवाको फौजले नै साहित्य सिर्जना गर्ने अवसर मिल्यो। नौ वर्षको उमेरमा नै खेतको मकै कुर्न जाँदा लेकाली कौवाले पारेको हैरानीको परिणाम स्वरूप अन्तर हृदयबाट काव्यको प्रस्फुटन हुनपुग्यो। ‘सुन सुन पाँच हो म केही भन्छु, लेकाली कौवाको सवाई कहन्छु’ शीर्षकमा एउटा सवाई लेखेँ। १६/१८ श्लोक भएको उक्त शीर्षकको सवाईबाट नै मेरो साहित्य सिर्जनाको खुड्किला प्ररम्भ भएको हो। तर त्यो अहिले मसँग छैन। मैले त्यतिखेर चण्डी र वेदको अध्ययन प्रारम्भ गरिसकेको थिएँ। वि.सं २०१४ सालमा आमाको आज्ञाबिना भाउजु माइत गएबापत उहाँले भोग्नु परेको पीडालाई स्मरण गर्दै ‘कस्तै भए नौनी समान ती, सासु भएपछि वज्र समान भयो नि’ भन्ने कको दोस्रो सिर्जना गरेँ। तर त्यो छन्दमा मिलेको भने थिएन। २०२१ सालमा आमा बित्नुभयो। २०२२ साल फागुन महिनाको रात खेतमा लगाउन पानी कुर्नुपर्ने। पानी अर्काले मार्ला भनेर म ननिदाई बसिरहेको थिएँ। टुकी, कापी र बाँसको कलमसँगै राखेर लेख्दै थिएँ। म त्यतिखेर स्वस्थानीलाई नेपालीमा छन्दबद्ध गर्थेँ। बिबाह ब्रतबन्धमा ठुवा वा सिलोक गाउनु पर्ने, आफूले नै सिर्जना गरेकोलाई कसैले पनि काट्न नसक्ने, जित्न सकिने, त्यसैले मैले स्वस्थानी जस्ता ग्रन्थलाई सिलोक बनाउँथेँ। त्यस दिन पनि मैले स्वस्थानीलाई सिलोक बनाएँ र सुतेँ। बिहान घाम लागिसकेको थियो, म निदाइरहेकै थिएँ। स्वर्गवासी आमाले सपनामा नीलो डायरी दिँदै ‘कविता लेख बाबु’ भन्नुभयो त्यसैलाई प्रेरणाको मूल स्रोत मान्दै तेस्रो सिर्जना रूपमा ‘मातृवियोग’ शीर्षक दिएर केही कविता लेखेँ। २०३४ मा बैतडीकी एक महिलाले आफ्नो पिता बितेको कहानी बताएपछि त्यहाँबाट प्रभावित भई ‘पितृवियोग’ शीर्षकको अर्को कृति लेखें जुन अप्रकाशित छ। सेवाको सिलसिलामा म अछाममा पुगेपछि ‘प्रणय सन्देश’ लेख्न थालेँ। हाल जनस्वास्थ्य कार्यालय रसुवाका डा. गोपाल खनाल पनि त्यहीँ हुनुहुन्थ्यो। उहाँ जहिले पनि कविता लेखेर पूरा गर्न प्रेरणा दिनुहुन्थ्यो। ‘प्रणय सन्देश’ काव्य पूरा हुनुमा उहाँको अविस्मरणीय देन छ। मैले रसुवाकै रामकृष्ण आचार्यलाई अर्का प्रेरकको रूपमा लिएको छु। जतिखेर म लहरेपौवाको आयुर्वेदमा कार्यरत थिएँ त्यसवेला उहाँले मेरो कविता सिर्जनबारे थाहा पाउनु भएछ र मलाई डाक्नुभयो। मैले कविता सुनाएँ। उहाँले भन्नु भयो ‘यो त तिम्ले चोरेको कविता रहेछ। एउटा महाभारतको, एउटा देवीभागवतको अनि अर्को कृष्ण चरित्रको, सबैतिरको जोडेर बनाएको रहेछ’। मैले भनेँ ‘३६ वटा अक्षर चोरेको शब्द चोरेको तर श्लोक चोरेको छैन, यो तपाइँलाई पुष्ट्याइँ गरिरहनु आवश्यक छैन।’ त्यसपछि उहाँले ‘साच्चिकै तिमीले नै रचना गर्न सक्ने भए मेरो फूलबारी र बगैँचा हेरेर कविता बनाई भोलि सवेरै ल्याई सुनाऊ’ भन्नुभयो। मैले भोलिपल्ट उहाँकै बगैंचाको कविता लेखेर सुनाएँ। ३० जना जति अरू मान्छे पनि बोलाएका रहेछन्। मैले कविता सुनाएपछि उहाँ धेरै खुसी हुनु भयो। उहाँले चोरेको भन्ने शब्दले पनि मलाई सही सिर्जना गर्न प्रेरणा जगायो। जागिरमा बस्दा श्रीमतीलाई शार्दूलविक्रीडित छन्दमा नै चिठी पठाउँथेँ।

साहित्यको परिभाषा कसरी गर्नुहुन्छ ?
म भन्छु साहित्यकारको मन नै साहित्य हो र ऐना पनि हो। मनमा लागेको कुरा उसले लेख्छ र उसको मन कवितामा देखिन्छ। कतै अरूको मनलाई पनि कवितामा उतारिन्छ। यति मात्रै हो कि त्यहाँ अरूकै मन देखिएला, त्यसैले साहित्य भनेको मन हो। मनको ऐना हो। त्यहाँ साहित्यकारको मन र्छलङ्ग देखिन्छ।

साहित्य सिर्जना गरेर प्रकाशन गर्न कतिको सजिलो छ र यसका फाइदा के के छन् ?
अहिले त कम्प्युटर छ, शुद्धाशुद्धि हेर्न पनि सजिलो छ। तर मैले २०४७ सालमा ‘प्रणय सन्देश’ छपाउँदा घर बनाउनभन्दा बढी गाह्रो भयो। किला मिलाएर लेख्नुपर्ने। असाध्यै गाह्रो थियो। शुद्धाशुद्धि हेर्न साह्रै गाह्रो। मैले तपाइँलाई पनि दिएको थिएँ, हेर्नुभयो होला। पछाडिका केही पानामा शुद्धाशुद्धि गरेको छु। साहित्यिक पुस्तक लेखेर खासै फाइदा छैन। अर्काले लेखेको छपाउँदा रोयल्टी आउने पैसा फाइदा होला तर आफैले लेखेर छपाउँदा त्यत्तिकै बाँड्ने हो। जति लगानी हुन्छ, त्यति विक्री गरेर आम्दानी हुँदैन। तर साहित्य सिर्जना गरेर प्रकाशन गरे पनि नगरे पनि भविष्यमा यसको मूल्याङ्कन अवश्य हुन्छ।

कुन् कुन् छन्दमा कविता लेख्नुहुन्छ ? र यहाँ मेरो हातमा ‘थोत्रो घुम’ छ, यसको सिर्जना कसरी भयो ?

म धेरै जसो अनुष्टुप् छन्दमा लेख्छु। शार्दूलविक्रीडित र सवाई छन्दमा पनि लेख्ने गरेको छु। ‘थोत्रो घुम’ लघुकाव्यको कुरा गर्नुपर्दा यसको सिर्जना २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको ९ दिनसम्म भागवत लगाउन पर्ने भयो। म पण्डित हुँ तर पुरेत हैन। कर्मकाण्ड जान्दिन तर पुराण भन्छु। यज्ञमा बस्दा ज्वरो आयो सिटामोल खाएँ। औषधिका कारण फर्कँदा लौरो टेकेर फर्केको थिएँ। मेरो अवस्था देखेर घरमा श्रीमतीले यस्तो दुःख गरेर ज्यान फालेर पनि पुराण भन्नु पर्ने भनेर भनेको कुराबाट थोत्रो घुमको सिर्जना भएको हो।

यसको मूल मर्म यस्तो छ :

भावी भाव मडारिएर मनमा उठ्दा स्वयं क्वै दिन गर्दै चिन्तन चित्तले मनुजको मालिन्य दर्शाउन ।
जात्रे जीवनको यथार्थ घटना संझेर थोत्रो घुम लेखेँ यो लघुकाव्य पूर्ण पनि भो ऐले विदा हुन्छु म ।।

घरका मान्छेले भनेको कुराबाट मैले ‘म अब काम नलाग्ने थोत्रो घुम भएछु’ भन्ने लागेर नै यो कृतिको सिर्जना भएको हो। श्रीमतीले यसो भनी भनेर भन्दै हिड्ने कुरा पनि भएन। मामाले आग्रह गर्दा भागवत नलगाउने कुरा पनि भएन। यसो हुँदा दुःख भो। दुःख परेपछि यो काव्य बनेको हो। प्राय मेरो कृतिहरू दुःखमा नै सिर्जना भएका छन्।

रसुवाली साहित्य र साहित्यकारको अवस्था कस्तो पाउनु भएको छ ?
यहाँको प्रकृति राम्रो र मनमोहक छ, यसलाई हेरेर साहित्य सिर्जना हुन्छ। साहित्य सिर्जनाको खानी रसुवामा धेरै छ। तर साहित्यकारको संख्या ज्यादै कम छ। धेरै मैले देखेको छैन। अहिले केही फाट्टफुट्ट देखिएका छन्।

तपाइँलाई मन पर्ने साहित्यकार र कृति कुन् हो ? र तपाईका आफ्नै सबैभन्दा राम्रो लागेको कृति कुन् हो ?
मलाई सबैभन्दा मनपर्ने लेखनाथ पौड्याल हुन्। उनको ‘तरूण तपसी, ऋतु विचार’ सबैभन्दा मन पर्छ। बालकृष्ण सम र उनको ‘मुटुको व्यथा’ तथा मोदनाथ प्रश्रृतका कृतिहरू ज्यादै मन पर्छ। आफ्ना कृतिहरू मध्ये ‘प्रणय सन्देश’ बढी मनपर्छ।

रसुवा खबर मार्फत रसुवाली स्रष्टालाई के भन्नु हुन्छ ?
पुग्छन् हेर हिँडिरहेर कमिला हज्जार कोसौं पर
पुग्दैनन् गरुडै पनि नउडी ता त्यै पाँच बित्तै पर ।

रसुवाबाट बामे सर्न लागेको पत्रिका मार्फत पत्रिकालाई पनि बामे सर्दै सर्दै हज्जारौं कोस टाढा पुग्न र साहित्यिक स्रष्टालाई पनि सिर्जनामा लाग्न अभिप्रेरित गर्छु, सम्भावना ज्यादै छ। मिहिनेत गर्नुस् रसुवामा धेरै कुराको संभावना छ। बामे सर्न खोजियो भने कोस पुग्न गाह्रो छैन। हिँड्न सकिन्छ। संस्कृति र साहित्य एक अर्काका परिपूरक हुन्। विजया दशमी, दीपावली जस्ता राष्ट्रिय पर्व र साहित्यको असाध्यै सम्बन्ध छ, संस्कृति तथा विविध सम्पदाको साहित्य सिर्जना मार्फत रसुवाको विकासको इट्टा थप्नुस्। साहित्य सिर्जनाले विकासमा सहयोग पुर्‍याउँछ। रसुवाको पहिलो पत्रिका रसुवालीको पत्रिका ‘रसुवा खबर साप्ताहिक’ मार्फत जिल्लावासी सबैलाई विजया दशमी तथा शुभ दीपावली २०६७ को शुभकामना दिन चाहन्छु।

रसुवा खबर · वर्ष १, अंक २ · २०६७ असोज २३ गते शनिवार
साभार: रसुवा खबर साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *