जंगलमा आगलागी, जलवायु परिवर्तन हंगा र मानव जीवन

वन संरक्षण नै मानव जीवनको संरक्षण हो
रसुवा खबर · वर्ष १, अंक २३ · २०६७ चैत ५ गते शनिबार

रसुवामा जंगलमा आगलागी

रसुवाको जंगलमा लागेको आगलागी

आगलागी र यात्राको कठिनाइ — रसुवा

आगलागीका कारण रसुवामा यात्रा समेत कठिन

जलवायु परिवर्तनको विषय विश्वमा नै चर्चामा आएको छ। वायुमण्डलको तापक्रममा अत्याधिक र अनेपेक्षित रूपले बृद्धि भइरहेको छ र विभिन्न प्रजातिका विरुवाहरू पनि स्थानान्तरण वा लोप हुँदै गई रहेका छन्। छोटो समयमा नै जलवायु परिवर्तनको विषयमा हंगामा भएको छ।

जलवायु परिवर्तनका लक्षण
तराईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा देखिनु वा हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोप हुनु, पृथ्वी उष्ण हुँदै जनजीवनमा प्रतिकूल असर पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरी फल दिनु वा फूल फूल्नु आदि नै जलवायु परिवर्तन हुँदा हुने गर्दछ। पानी पर्ने मात्रा उति नै भई रहँदा पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुनु त कहीँ बाढी पहिरो त कहीँ खडेरी आदि हुनु पनि जलवायु परिवर्तनको समस्याको कारण हो।

हरितगृह प्रभाव पार्ने ग्यासहरू
हामीले विभिन्न फोहोर डढाउँदा, कलकारखाना वा सवारी साधन चलाउँदा हरितगृहमा प्रभाव पार्ने यी ग्यासको मात्रा बढ्ने गर्दछ। यीनै ग्यासको मात्रा बढेपछि पृथ्वीमा जलवायु परिवर्तनको समस्या देखिने गर्दछ :
कार्बन डाइअक्साइड
नाइट्रस अक्साइड
सल्फर डाइअक्साइड
मिथेन
फ्लोरो कार्बन
हाइड्रोफ्लोरो कार्बन

वन संरक्षण नै मानव जीवनको संरक्षण
जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नको लागि वन जंगलको संरक्षण अत्यन्त महत्वपूर्ण रहने गर्दछ। वातावरणमा उपस्थित मानव घातक ग्यासहरू रूखले खाने र रूखले फ्याँक्ने अक्सिजन मानव जीवनको लागि उपयुक्त हुने हुनाले जंगलको संरक्षण नै मानव जीवनको संरक्षण हो। त्यसैले मानव र जंगल एक अर्काका जीवन सहयोगी पात्रहरू हुन्, एक अर्काका पर्यायी हुन् — यसमा कुनै शंका छैन।

जंगल विनाशका कारणहरू
मानव जीवनको लागि जंगल यति महत्वपूर्ण हुँदाहुँदै पनि जानी नजानी हामी जंगलको विनाशमा जुटिरहेका छौं। यी क्रियाकलापले गर्दा हिउँदको समयमा धेरै वनको क्षति भइरहेको छ :
खाना पकाउने इन्धन
घर ठड्याउने साधन
घाँस पलाउने बहाना
वन्यजन्तु चोरी सिकारी

रसुवाको अवस्था : रिभरकुण्ड र टिमुरे
रसुवा जिल्ला वन जंगल धेरै भएको जिल्ला हो। यहाँ वर्षेनी प्रायः जंगलमा आगो लाग्ने गरेको छ। गत सातामात्र रिभरकुण्ड महोत्सव आयोजना हुँदै गरेको क्षेत्र बृद्धिम र त्यसको नजिक टिमुरेमा निकै विनाशकारी रूपमा आगो फैलेको हाम्रा नजरमा पर्‍यो। एकातिर पर्यटन महोत्सवको चटारो अर्कातिर जंगलमा आगो लाग्दा निस्केको प्रदुषणले वरिपरिका बस्तीहरूमा श्वास फेर्न समेत मुस्किल परिरहेको थियो। त्यहाँका जनतामा श्वासप्रश्वास सम्बन्धी रोगको चाप बढिरहेको थियो।

जंगल र पानी विना जीवनको कल्पना असम्भव
मानव जीवन सरल र सहज तरिकाबाट बिताउन हाम्रा वरपरका वातावरण सहयात्री हुन्। जंगल र पानी विना हाम्रो जीवनको कल्पना गर्न सकिँदैन। जंगल रहेमात्र पानी रहने र पानी रहेमात्र हामी रहने कुरामा सबैले चासो दिनु आवश्यक छ। रसुवाका जंगलमा आगो लाग्दा निभाउन सकिने सम्भावना ज्यादै न्यून रहेको छ। सबैतिर भीर, आगो फैलँदै जाँदा वर्षेनी धेरै सम्पदाको विनाश हुने गरेको छ। घाँसपातको सहजताको लागि होस् वा सिकार गर्ने चाहना स्वरूप, जंगलमा आगो लगाउँदा तत्कालीन केही लाभ पाइएला तर मानव जीवन र भूमण्डलको भविष्यका लागि यो खतरायुक्त छ।

— चेतनामूलक कविताको यो अंश —
छैनन् रूख भने रहन्न जगतै बाँच्दैन भन्ने पिर
फैलेका कण धेर, दूषित हुँदै फर्किन्छ मान्छे तिर ।
मान्छेले लिनु पर्छ चीज जुन हो भन्ने त अक्सिजन
रोपौं रूख दिनेछ आज सहजै राखौं यही चेतना ।।

रसुवा खबर · वर्ष १, अंक २३ · २०६७ चैत ५ गते शनिबार
साभार: रसुवा खबर साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *