जलवायु परिवर्तनको समस्या अनुकूलनमा गोबरग्यास प्रविधिको महत्व

वनजंगल जोगाउने र हरितगृह ग्यास घटाउने सर्वोत्तम उपाय
रसुवा खबर · वर्ष १, अंक १४ · २०६७ पुस २४ गते शनिबार

गोबरग्यास प्रविधि

गोबरग्यास प्रविधि — जलवायु अनुकूलनको सर्वोत्तम उपाय

एकातिर वायुमण्डलको तापक्रममा अत्याधिक र अनेपेक्षित रूपले बृद्धि भइरहेको छ र अर्कातिर विभिन्न प्रजातिका विरुवाहरू पनि स्थानान्तरण वा लोप हुँदै गई रहेका छन्। तराईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा पाइनु वा हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोप हुनु, पृथ्वी उष्ण हुँदै जनजीवनमा प्रतिकूल असर पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरी फल दिनु वा फूल फूल्नु — यी सबै जलवायु परिवर्तन हुनुको प्रमाण हुन्।

जलवायु परिवर्तनका प्रमाण
कहिले अतिवृष्टि त कहिले अनावृष्टि वा खण्डवृष्टि हुनु वा कहीँ बाढी पहिरो त कहीँ खडेरी आदि हुनु पनि जलवायु परिवर्तनको प्रमाण हुन्। विभिन्न वातावरणविद्हरूको पृथ्वी नै नरहने कुराबाट, हिमाल नरहने, ताल तलैया सुक्ने वा फुट्ने, पृथ्वी नै पानी विहीन बन्ने कुराबाट हामीमा सन्त्रास सिर्जना भइरहेको छ। यी कुराहरूमा सम्पूर्ण मानववर्ग पूर्ण रूपले सचेत रहनु पर्छ।

समस्याको जड हामी आफैं
जलवायु परिवर्तनको समस्या हामी र हाम्रा कारण सिर्जना हुने गरेका छन्। हामीले समस्या निम्त्याएका छैनौं भनेर कसैले पनि भन्नु पर्दैन। धेरै वा थोरै हामीले वातावरणमा असहजता थपिराखेका छौं। जानेर वा नजानी समस्या निम्त्याउने पनि हामी हौं र समस्या न्यूनीकरणका लागि सहयोग पुर्‍याउने पनि हामी नै हौं।

हरितगृह प्रभाव पार्ने ग्यासहरू
बोटविरुवा नष्ट गर्दा, जैविक–अजैविक वस्तु डढाउँदा, कलकारखाना तथा सवारी साधन सञ्चालन गर्दा, रासायनिक वस्तुको अत्याधिक प्रयोग गर्दा, धुँवायुक्त भान्छा प्रयोग गर्दा र खनिज वा कोइलाको अत्याधिक प्रयोग गर्दा यी ग्यासको मात्रा बढ्ने गर्दछ :
कार्बन डाइअक्साइड
नाइट्रस अक्साइड
सल्फर डाइअक्साइड
मिथेन
फ्लोरो कार्बन
हाइड्रोफ्लोरो कार्बन

रूख कटान र कार्बन डाइअक्साइडको चक्र
वातावरणमा पैदा हुने कार्बन डाइअक्साइड रूखले लिएर हामीलाई अक्सिजन दिने गर्छ। जहाँ रूखविरुवाको बिनास हुन्छ तहाँ कार्बन डाइअक्साइड पुनः हामीले नै खानु पर्ने हुन्छ। जसको कारण विभिन्न किसिमका रोगहरूको प्रकोप बढ्दै जान्छ र मानवीय क्षति बढ्दै जान्छ। त्यसैले जंगलको उचित विकास तथा विस्तारबाट यी खाले ग्यासको उत्सर्जनमा कम गर्न सकिने भएकोले अब यी समस्या न्यूनीकरण गर्न हामी सबैले जागरुक भएर चेतनामूलक अभियान सञ्चालन गर्नु पर्दछ।

चेतना फैलाउने माध्यमहरू
अन्तरक्रिया
सडक नाटक
होर्डिङ बोर्ड
पोस्टर
पम्प्लेट
मिडिया कार्यक्रम

दाउराको भर र वनजंगलको विनाश
नेपाली भूभाग प्रायशः हिमाली वा उच्च पहाडी वस्तीहरू मिलेर बनेको छ। खाना पकाउन मुख्य इन्धनको रूपमा जंगलको दाउरा नै प्रयोग हुने गरेको छ। हाम्रो समाजमा दाउरा कम लाग्ने वा दाउरा नै नचाहिने प्रविधिको विकास भइसक्दा पनि त्यस्ता प्रविधिको प्रयोग गर्न हिच्किचाइ रहेका छौं। फलस्वरूप खाना बनाउने, कोठा तातो बनाउने बाध्यताले दिनहुँ वनजंगलको विनाश हुने गरेको छ। सम्भावना हुँदा हुँदै उपाय नखोज्दा वा उपायका नजिक नपुग्दा नै जलवायु परिवर्तनको समस्यामा संसार रुमल्लिरहेको छ।

गोबरग्यास प्रविधिको प्रभाव (प्रति घर, वार्षिक)
७ टन
कार्बन उत्सर्जन कम
२.४४ टन
दाउरा प्रयोग कम
वनजंगल जोगाउन दाउरा कम लाग्ने वा धुँवा कम हुने वा धुँवा नै नहुने प्रविधिहरूको प्रयोग हुनुपर्दछ। यसका लागि गोबरग्यास प्रविधि सर्वोत्तम प्रविधि हो। एकातिर कार्बन कम उत्सर्जन भई वातावरणमा सहयोग पुग्ने र अर्कोतिर वनजंगलको संरक्षणमा महत्वपूर्ण योगदान रहने प्रविधि गोबरग्यासको प्रयोगमा स्थानीय जनताको पहुँच बृद्धि गर्नु नै कल्याण हुन्छ।

सबैको सचेतना अनिवार्य
सबै नागरिक सचेत भए मात्र जलवायु परिवर्तनको समस्याहरू समाधान गर्न सहयोग पुग्नेछ, किनकि अन्य विषय वस्तुभन्दा यो विषय वस्तु अति संवेदनशील छ। एक सय जना मान्छे सचेत हुने तर एक जना मान्छेले वातावरण प्रदुषण गर्ने काम वा जंगलमा आगो लगाई दियो भने एक सय जना सचेत भएको के अर्थ? यी विषयमा जति कुरा गरे पनि अन्तिम विषय भने जंगल जोगाउने, रूख रोप्ने वा हरितगृह ग्यासको उत्सर्जनमा कमी ल्याउन सहयोग पुर्‍याउने नै हो।

कुरा मात्र होइन, काम पनि
विश्व तापमान बृद्धिको समस्या समाधान गरी जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम हुनु पर्दछ। जलवायु परिवर्तनको कुरा चलाएर अरबौं डलर कुम्ल्याउने एनजीओ वा आइएनजीओसँग पनि हामी त्यत्तिकै चनाखो रहनु पर्दछ। जलवायुको नारामा सेमिनार र गोष्ठीका दाँया, बाँयाका तस्वीर खिचेर उपलब्धी हासिल गर्‍यौं भनेर हामीलाई साँच्चिकै विषयवस्तुमा सहयोग नगर्नेहरूसँग हामी सँधैं चनाखो रहनु पर्छ र यो हाम्रो दायित्व र भूमिका पनि हो भन्ने लाग्छ।

“रूख र पानी नरहे हामी रहँदैनौं भन्ने तर्कमा विश्वास गर्दै गोबरग्यास प्रविधि प्रयोग गर्न हामी सबै लामबद्ध रहौं। यसैमा मात्र हामी सबैको जीत हुन्छ।”

रसुवा खबर · वर्ष १, अंक १४ · २०६७ पुस २४ गते शनिबार
साभार: रसुवा खबर साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *