हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

जलवायु परिवर्तनको चुनौती, वन संरक्षण र व्यवहारिक वातावरण संरक्षणको आवश्यकता

वातावरण संरक्षण सचेतना पोस्टर

हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

जीवनयापनमा प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण भन्ने शब्द एउटा शब्द मात्र हैन, संरक्षण गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु हो। वातावरणको संरक्षण नहुँदा विश्वको भूगोल महामारीको चपेटामा पर्ने तीतो यथार्थतालाई विश्वले स्वीकारी सकेको छ। वातावरण संरक्षणका लागि अनेकन् चुनौति रहेता पनि संसारका मानिसहरू भावी पुस्ताका लागि यो संसार अनुकूल बनाएर हस्तान्तरण गर्नका लागि आतुर छन्।

वातावरण भन्ने बित्तिकै हामी बाँच्ने प्रमुख आधार हो भन्ने हाम्रो समाजले हिजोदेखि नै विश्वास गर्दै आएको छ। तर पनि मानिसका अनेकन् आवश्यकता वा भौतिक सुविधामुखी संसार भएको कारण वातावरण प्रतिकूल बन्दै गएको छ।

नेपालमा बढ्दो तापक्रम र जलवायु परिवर्तन
वातावरण प्रतिकूल हुँदा एक भेगका मात्र नभई भूगोलभरिका जनमानसका जीवनयापन प्रतिकूल हुन्छ। मात्र यति फरक हो कतै त्यसको प्रभाव कम पर्ला त कतै बढी। नेपालको तराईमा भन्दा पहाडमा र पहाडमाभन्दा हिमालमा तापक्रम बढ्दै गइरहेको छ। जलवायु परिवर्तन सम्बन्धी विभिन्न तथ्याङ्कका अनुसार नेपालको तापक्रम प्रतिवर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बढ्दै गइरहेको छ तथा हिमाली क्षेत्रमा भने वृद्धिदर ०.०९ डिग्री सेल्सियस पाइएको छ।
०.०६°C
नेपालको सरदर तापक्रम वृद्धि (प्रतिवर्ष)
०.०९°C
हिमाली क्षेत्रको वृद्धिदर (प्रतिवर्ष)
जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा पर्ने भएकोले नेपाल जस्तो हिमाल धेरै भएको देश वातावरण प्रतिकूल बढी हुने र यसको असर धेरै खेप्ने देशभित्र पर्दछ।

“वातावरण संरक्षण गर्नका लागि प्रमुखत वन जंगलको संरक्षण नै हो। वनबाट नै अक्सिजन, पानी तथा मानव समाजका विभिन्न आवश्यकता पुरा हुने गर्दछ।”

वन संरक्षण : जीवनको आधार
वन संरक्षणबाट प्राप्त हुने विभिन्न सुविधा हाम्रा लागि अपरिहार्य छन्। जंगलबाट हुने गरेका संरक्षित पानीबाट नै जलविद्युत उत्पादन गरी हाम्रा बस्तीहरू उज्यालो प्राप्त गर्न सकिन्छ। त्यसैले वन संरक्षणबाट हामीले दाउरा, घाँस, पानी, उज्यालोलगायत बाँच्नका लागि अक्सिजन पाउनुका साथै दुर्लभ मानिएका विभिन्न चराचुरुङ्गी र जनावरहरूकोसमेत संरक्षण हुने गर्दछ।
वनबाट प्राप्त हुने अपरिहार्य सुविधाहरू:
अक्सिजन
पानी
दाउरा
घाँस
जलविद्युत
जैविक विविधता

व्यवहारिक वातावरण संरक्षण : सानैबाट सुरु
वातावरण संरक्षणका विषयवस्तुलाई प्रभावकारी ढंगबाट समाज वा बस्तीमा पुर्‍याउनका लागि प्रत्येक वर्ष विश्व वातावरण दिवस मनाउने गरिएको छ। तर यो दिवसका रूपमा मात्र नभई साच्चिकै व्यवहारिक रूपमा वातावरण संरक्षणमा टेवा पुर्‍याउने खालका कार्य गरेर मनाउनु आवश्यक छ। वातावरण संरक्षण सम्बन्धी कार्यमा सहयोग पुर्‍याउन धेरै ठूला ठूला कार्य मात्र पर्दैन।
घरबाटै गर्न सकिने साना प्रयासहरू:
  • जैविक फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्ने
  • बारीमा एउटा डाले घाँसको रूख हुर्काउने
  • पिँढीको छेउमा गमला राखी फूल रोप्ने
  • नाइलन वा प्लास्टिकजन्य वस्तुको कम प्रयोग गर्ने
  • धुँवारहित इन्धन वा प्रविधिको प्रयोग गर्ने
आफ्नो घरभित्रबाट निस्कने फोहोरको स्व-व्यवस्थापन गरे पनि वातावरण संरक्षणमा सहयोग पुर्‍याउन सकिन्छ। घरभित्रबाट निस्कने अजैविक वा नकुहिने वस्तुको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता परेपनि जैविक फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न सके वातावरण संरक्षण मात्र हैन कृषि उत्पादन पनि वृद्धि गर्न सकिन्छ।

आजैबाट लागौं : कुरासँगै काम गरौं
हामी लामो समय, स्वस्थ भई बाँच्ने हो भने, भावी सन्ततिलाई अनुकूलित धर्ती हस्तान्तरण गर्ने हो भने रूख रोपौं, फोहोर व्यवस्थापन गरौं, नाइलन वा प्लास्टिकजन्य वस्तुको कम प्रयोग गरौं, धुँवारहित वा धुँवा कम गर्ने इन्धन वा स्रोत तथा प्रविधिको प्रयोग गरौं। मुख्य गरी वनको स्रोत प्रयोगलाई मात्र ध्यान दिँदै आएको समाज क्रमशः स्रोत संरक्षणतर्फ लाग्नु आजको प्रमुख आवश्यकता हो। अनुकूल वातावरण भएमात्र हामी रहन्छौं, हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण भन्ने विषयवस्तुलाई साकार पार्न आजैबाट लागौं, कुरासँगै काम गरौं।

“अनुकूल वातावरण भएमात्र हामी रहन्छौं — हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण।”

वातावरण संरक्षण · जलवायु परिवर्तन · वन संरक्षण
हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *