इतिहाँस निर्माणमा सहयोगी पुस्तक

जैविक विविधता संरक्षण, पर्यटन विकास र धर्म-संस्कृति — फूर्पा तामाङको अध्ययनमा आधारित कृति

जैविक विविधता संरक्षण, पर्यटन विकास र धर्म-संस्कृति पुस्तक

फूर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकास र धर्म-संस्कृति’

रसुवाको सामान्य बस्तीमा जन्मिएका फूर्पा तामाङ रसुवाका निम्ति एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिएका छन्। गाउँको सामान्य वा विकट जीवनको भोगाइदेखि राजधानीको अत्याधुनिक विकाससम्मका भोगाइलाई अनुभवका रूपमा लिइसकेका फूर्पा तामाङले जिल्लाको विविध समस्या, सम्भावना र चुनौतीहरूलाई विभिन्न सञ्चार माध्यम (कान्तिपुर, नागरिक, गोरखापत्रजस्ता राष्ट्रिय दैनिक पत्रिका र कान्तिपुर साप्ताहिक, त्रिशूली प्रवाह र रसुवा खबर साप्ताहिक) मा लेखनशैलीबाट प्रस्तुत गरिसकेका छन्।

अधिवक्ता बनेर न्याय र अन्यायको पहिचान गरी जनताको मुक्तिका लागि क्रियाशील तामाङले पछिल्लो समयमा जैविक विविधता संरक्षणमा पर्यटन विकासमा धर्म संस्कृतिको योगदान तथा भूमिकाको बारेमा गहकिलो अध्ययन तथा अनुसन्धान गरेका छन्। सोही अध्ययनको एक लिपिबद्ध सँगालो हो यो पुस्तक ‘जैविक विविधताको संरक्षण, पर्यटन विकास धर्म-संस्कृति’।

पुस्तकको उद्गम र महत्व
लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको धार्मिक तथा सांस्कृतिक महत्व भएका स्रोत तथा सम्पदाहरूलाई एउटै पुस्तकमा लिपिबद्ध गर्दै जैविक विविधताको संरक्षणमा धर्म तथा संस्कृतिको महत्व वा जैविक विविधता संरक्षणमा तामाङ जातिको धर्म संस्कृतिको अन्तरसम्बन्धलाई उजागरमा सहयोग पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाअन्तर्गतको पवित्र हिमालय भू-परिधि कार्यक्रमले उनको उक्त अध्ययन प्रतिवेदनलाई पुस्तकको रूपमा प्रकाशित गरेर रसुवाको तामाङ जाति र जैविक विविधता संरक्षण क्षेत्रमा एउटा इतिहास निर्माण गरेको छ।

पुस्तक एक नजरमा
३०
अनुसन्धनात्मक शीर्षक
२
भाग — लाङटाङ र गोसाइँकुण्ड
तस्वीर
जडिबुटी, पशुपन्छी, पर्यटकीय स्थल
पुस्तकमा ३० वटा शीर्षकअन्तर्गत अनुसन्धानात्मक लेखहरू प्रस्तुत गरिएका छन्। तामाङ जातिको भाषा अनुसार जस्ताको तस्तै वा चलनचल्तीमा रहेका र लोप हुन लागेका विभिन्न शब्दहरूको प्रयोग यस पुस्तकको प्रमुख विशेषता हो — जुन शब्दहरूको प्रयोगले तामाङ जातिको भाषाको संरक्षणमा टेवा पुर्‍याउने छ।

धर्म संस्कृतिको भूमिका : बोम्बो र बौद्ध
धर्म संस्कृतिको भूमिका शीर्षकअन्तर्गत लेखकले बोम्बो (बोन) धर्मका अनुयायीहरू रसुवाका तामाङ जाति प्रकृतिपूजक रहेको बताउँछन्। बोन (झाँक्री) धर्ममा आस्था राख्ने अनुयायीहरूले प्रकृतिमा पाइने सबै चीजहरूलाई ईश्वर मानेर पूजा गर्ने गरेको पुस्तकमा उल्लेख छ।
बौद्ध धर्मका अवतारी टुल्कु गुरु रिम्बोर्छे (पद्मसम्भव) ले बोम्बो धर्मका अनुयायीहरूलाई धर्म परिवर्तन गराएर बौद्धमार्गी बनाउनुभन्दा बोम्बो धर्म र बौद्ध धर्मलाई कसरी समायोजन गरी मध्यमार्गी बनाउन सकिन्छ भनेर कसरत गरी तान्त्रिक विधिबाट बोम्बोहरूलाई दीक्षित गरेको र बोम्बो र बौद्ध धर्म पर्यायवाची रहेको विषयलाई पुस्तकमा ऐतिहासिक पुष्ट्याइँसहित प्रस्तुत गरिएको छ।

“तामाङ जातिले प्रकृतिमा उपस्थित सबै चीजहरूलाई देवता मान्ने र संरक्षण गर्ने भएकोले उनीहरूले जैविक विविधताको संरक्षणमा ठूलो योगदान पुर्‍याएका हुन्छन्।”

लाङटाङ नामको उत्पत्ति : गोरुको कथा
लाङटाङ गाउँको उत्पत्ति कसरी भयो भनेर पुस्तकमा लेखिएको छ। ‘लाङडाङ’ शब्दको अपभ्रंश रूप ‘लाङटाङ’ हो। ‘लाङ’ को अर्थ ‘गोरु’ र ‘डाङ’ को अर्थ ‘अघाएको’ भन्ने हुन्छ।
लाङ (गोरु) + डाङ (अघाएको) = लाङडाङ → लाङटाङ
केरुङबाट भागेर आएको गोरु यस ठाउँमा अघाएको हुनाले यस क्षेत्रको नाम ‘लाङडाङ’ भएको कथन
लाङटाङ क्षेत्रका सबै ठाउँको नाम उक्त केरुङबाट हराएको गोरुको कथासँग सम्बन्धित छ।

लाङटाङका धार्मिक तथा पर्यटकीय आकर्षण
लाङटाङ गाउँको गुम्बा (टासी गोमाङ छोर्तेन), क्याङ्जेनको ढुङ्गे चट्टानमा रहेको गुरु रिम्बोर्छेको पैतालाको डोब र गुफा, यती बस्ने आडार, लाङसिसाको बेनक्याप बोम्बोको थान, मुन्डु गुम्बा, ज्योमोल्हाङ छेलिङ गुम्बा, साम्दिलिङ गुम्बा, क्याङ्जेन गुम्बा, घोडातबेलामा रहेको गेमो तेङ्दोङ नेसा, पेरिङ्छो कुण्ड, क्याङ्जेनको चीज उत्पादन केन्द्र तथा विभिन्न हिमाल र पिकलगायत वनस्पति, चराचुरुङ्गी, ग्ल्यासियर आदि यस क्षेत्रका प्रमुख आकर्षण हुन्।
गुम्बा तथा गुफा
पेरिङ्छो कुण्ड
हिमाल तथा पिक
जडिबुटी
चराचुरुङ्गी
ग्ल्यासियर
यस क्षेत्रमा पाइने विभिन्न मुख्य तथा लोपोन्मुख जडिबुटीको स्थानीय नाम, अंग्रेजी नाम तथा प्रयोग के के मा हुन्छ भनेर पनि वर्णन गरिएको छ। लाङटाङ सल्लो, धूपी, बुकी, डालेचूक, लालीगुँरास तथा वनमाराजन्य वनस्पतिको विवरण ‘लाङटाङको आकर्ष मुख्य वनस्पति’ शीर्षकमा उल्लेख गरिएको छ।

लाङटाङमा मनाइने चाडपर्व
ग्याल्बो ल्होसार
डुक्पा छेच्यु
ल्हाबाप द्वीक्षेन
बुद्ध जयन्ती

दोस्रो भाग : गोसाइँकुण्ड क्षेत्र
पुस्तक दुई भागमा विभाजित भएको पाइन्छ — एक लाङटाङ क्षेत्र वर्णन र अर्को गोसाइँकुण्ड तथा आसपासका क्षेत्रका विषयमा वर्णन गरिएको छ। ‘गोसाइँकुण्ड क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षणहरू’ शीर्षकमा भार्खु गाउँको उत्पत्तिको कथालाई रोचक प्रसङ्गसहित प्रस्तुत गरिएको छ।
यहाँका मानिसले दशैं, तिहार चाडपर्वलाई पनि प्राथमिकतासाथ मनाएको पाइन्छ। यसरी हेर्दा एक जातिको पर्व अर्कोले पनि मान्ने हुँदा धार्मिक सहिष्णुता प्रस्ट देखिन्छ। पुस्तकमा धुन्चे गाउँ र घले राजाको कथा, धुन्चे वरपरका धार्मिक तथा पर्यटकीय स्थलहरू, थुमन गाउँको जनजीवन, धार्मिक तथा पर्यटकीय आकर्षणहरूको विषयमा पनि चर्चा गरिएको छ।

भाषा, सालचक्र र स्थानीय नाम
‘धार्मिक, सामाजिक तथा सांस्कृतिक मान्यता एवं विश्वासहरू’ शीर्षकमा स्थानीय तामाङ जातिका मानिसहरूले अग्ला डाँडाहरू, जीवजन्तु, झर्ना, खोला, पानीका मुहान, लहरा, सिमसार, वनजंगल र कुण्डप्रति विश्वास राख्ने ती चीजहरूलाई देवता मानी पूजा गर्ने भन्ने विषयलाई लेखकले प्रस्तुत गरेका छन्।
सालचक्र — वर्ष, महिना, दिन
तामाङ भाषामा संख्या
भोटेली भाषामा संख्या
स्थानीय पुराना नाम

समग्र मूल्याङ्कन
पुस्तकमा धर्म-संस्कृति विकासलाई वस्तुगत विश्लेषण गरिएको पाइन्छ। जिल्लामा पर्यटन विकास, आजको अत्याधुनिक विकास क्रमले प्रकृतिमा पर्न गएको प्रभाव, मूल्य मान्यताको पहिचानमा कठिनाई तथा विश्वसनीय अभिलेखीकरणको अभाव भइरहेको बेला यो पुस्तकले एउटा इतिहास निर्माण गरेको छ भन्दा फरक पर्दैन। आयातित विभिन्न धर्म र भाषाको असरले तामाङ जाति र भाषाका विविध विषयहरू ओझेलमा परेका बेलामा लेखकले अध्ययन गरी यथार्थमा चित्रण गरेको यो पुस्तकले आगामी पुस्ता तथा अनुयायीहरूलाई एक अध्ययन सामग्रीको रूपमा कार्य गर्नेछ।

“रसुवाका तामाङ समुदायमा आयातित क्रिश्चियन जस्ता धर्मको चाप बढेको र आ-आफ्नो पहिचान बनाउन खोजेको बेलामा तामाङ धर्म र सो जाति विशेषका लागि यो पुस्तक एक कोसेढुङ्गा बन्नेमा कसैको पनि दुईमत रहँदैन।”

रसुवा खबर · पुस्तक समीक्षा
पुस्तक : जैविक विविधता संरक्षण, पर्यटन विकास र धर्म-संस्कृति · लेखक : फूर्पा तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *