व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन

ज्ञानेन्द्रनाथ न्यौपाने (जी. लेकाली) सँगको विशेष अन्तर्वार्ता
रसुवा खबर, वर्ष १, अंक १ · असोज १६, २०६७ शनिवारबाट साभार

ज्ञानेन्द्रनाथ न्यौपाने (जी. लेकाली)

संयोजक — पत्रकार महासंघ, जिल्ला तदर्थ कार्य समिति, रसुवा

वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपानेको कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता पेशा गर्दैछन्। ०३४ मा सरकारी नोकरीको सिलसिलामा रसुवा प्रवेश गरेका न्यौपानेले जिल्लाको पत्रकारिता पेशालाई न्यायोचित र समयानुकुल गर्नमा तल्लीन रहे। हाल उनी पत्रकार महासंघ जिल्ला शाखाको संयोजक पनि भइसकेका छन्। प्रस्तुत छ रसुवाली पत्रकारिता पेशाको सेरोफेरोमा रही पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका संयोजक तथा त्रिशूली प्रवाह र राससका जिल्ला समाचारदाता ज्ञानेन्द्रनाथ न्यौपाने (जी. लेकाली) सँग रसुवा खबर साप्ताहिकका सम्पादक प्रेमप्रसाद पौडेलले गर्नुभएको कुराकानीको मुख्य अंश ………………

१. रसुवा जिल्लामा कहिले प्रवेश गर्नु भयो ?
म वि.सं २०३४ साल बैशाख महिनामा रसुवा आएको हुँ।

२. रसुवाको प्रवेशको उद्देश्य के के हुन् ?
म सरकारी नोकरीको सिलसिलामा नै यस जिल्लाको सेवा गर्ने उद्देश्यका साथ आएको हुँ।

३. किन पत्रकारिता पेशामा लाग्नु भयो र कहिलेदेखि, कसरी सेवा दिनुभयो ?
रसुवा जिल्लामा हुने गरेका घटनाको समाचारको रूपमा पत्रपत्रिकामा आउने कार्यको शून्यता देखी अन्तर्मनदेखि नै पत्रकारिता गरि यहाँको पुण्यभूमीमा सेवा गर्ने अठोटले यसमा लागेको हुँ। म त्येतिखेर जागिरे जिन्दगीमा भएपनि हिमाली जिल्ला रसुवाको गतिविधि अन्य जिल्लामा वा सञ्चार माध्यममा पुर्‍याउनु पर्छ भन्ने लाग्थ्यो तर राजपत्र अंकित द्वितीय श्रेणीको खरिदार पदमा रहेको र निजामति ऐनले खरिदार स्तरको कर्मचारीलाई सरकारको स्वीकृतिविना अन्य पेशामा आवद्ध हुन मिल्दैन भनिएको थियो। मैले त्यतिखेरका स्थानीय प्रशासक रामेश्वर देवकोटाबाट विकास निर्माणको मात्र समाचार लेखी पठाउने स्वीकृति पाए पछिमात्र यसका लागि ढोका खुल्ला भएको हो। प्राप्त भएका अन्य समाचार संप्रेषण गरिएको भए जागिर नै जाने थियो। जोखिम मोलेरै भएपनि मिश्रित सूचना प्रवाह गर्ने प्रयत्न जारी गर्दै गर्दा मैले लेखेका समाचारहरू राससमार्फत रेडियोमा र गोरखापत्रमा आउने गर्थ्यो। अन्य राष्ट्रिय दैनिक थिएन, पञ्चायतकालीन समयमा प्रजिअले बोलेपछि पुग्थ्यो। कतै अप्ठेरो परे हात जोडेर विन्ती गर्दा गल्ती पनि मिनाहा हुन्थ्यो। वन कार्यालयको वृक्षारोपणको समाचार पहिलो पटक ०४२ मा संप्रेषण भएको हो। थोर बहुत समाचार आइरहन्थे। त्येतिखेर आकाशवाणी मार्फत अपरेटरको सहायताले दूर सञ्चारबाट समाचार टिपाउनु पर्थ्यो। शुल्क चर्को थियो, प्रति अक्षर पाँच पैसा तिर्नुपर्थ्यो तर मैले पत्रकारिताको पिनकोड प्राप्त गरेकोले प्रतिअक्षर दुई पैसामात्र तिरे पुग्थ्यो। दूर सञ्चारको हाकिम प्रायशः काठमाडौं बस्ने भएकोले म अपरेटर तालिमप्राप्त भएकोले प्रायशः रसुवाको दूर सञ्चार नै मेरो जिम्मामा हुन्थ्यो। म नुवाकोट जिल्लामा जन्मिए पनि प्राय बाल्य अवस्थादेखि नै रसुवाको भूमिमा नै दिन बित्थ्यो। यहाँका बुढापाकामा सञ्चार र पत्रकारिताको त्यति महत्व थिएन। राष्ट्रसेवकले राम्रो काम गरेको समाचार आएपछि पुरस्कार पनि पाउँथे। विकास निर्माणको सूचना दिइरहन्थे। ०४६ को बहुदल व्यवस्था भएपछि थुप्रै पत्रपत्रिका निस्के तर मैले राससमा नै रहेर सेवा गरिरहेँ। ०४२ देखि ०५४ सम्म सहयोगी जिल्ला समाचारदाताको रूपमा कार्य गरेँ। ०५५ मा खरिदार पदको अन्त्य गरि पूर्ण पत्रकारिताको बिल्ला लगाउन सञ्चार संस्थाप्रति प्रतिबद्ध रहीरहेँ। साह्रै गर्व लाग्छ, मैले लेखेका समाचारले राष्ट्रिय स्तरमा पनि स्थान पाएको छ। चिया कति पीइयो ? भन्ने प्रश्न जस्तै समाचार कति लेखियो भन्दा हिशाब राख्न सकिएको छैन। २५ वर्षको दौरानमा धेरै समाचार लेखिए। धुन्चे गोसाइँकुण्ड केबलकारको समाचार मैले नै लेखेको थिएँ, त्यही समाचारबाट चर्चामा आएको कुरा अहिले राष्ट्रिय स्तरको योजनाको रूपमा रहेको छ, मलाई यो साह्रै गर्व लाग्छ।

४. रसुवाको पत्रकारिताको पृष्ठभूमी कस्तो छ ?
वि.सं २०४६ को परिवर्तन सँगसँगै पत्रकारिता र सूचना प्रवाहमा पनि परिवर्तन हुँदै गयो। पत्रपत्रिकाको महत्व बढ्दै गयो। क्रमिक रूपमा रसुवाको शैक्षिक अवस्था पनि सुधार हुँदै गएपछि युवापिढीका पत्रकार थपिन थाले। विद्यालयस्तरबाटै पत्रकारिताको पढाई हुन थाल्यो। घटनाहरू पनि गाउँगाउँमा बढ्दै गयो। त्यसका समाचार छापिएपछि गल्ती गर्नेको नाम जोडिएमा धम्क्याउने पनि गर्थे। अझ युद्धकालीन अवस्थामा बढी डर थियो। धेरैजसो व्यक्तिले मेरो नाम आएन भनेर रिसाउँथे र पत्रकार सत्रकार उडाई दिन्छौं भनेर युवाहरू आक्रोश पोख्थे। तर म सबैको ज्ञानु दाई भएकोले नजिक परेर कुरा गर्दा कुरा बुझेर ठण्डा दिमागले फर्कन्थे। कोही भन्छन् समाचार किन आएन ? कोही भन्छन् हाम्रा भावना समेटिएन त कोही भन्छन् तथ्य घटना बाहिर आएन, त कोहीले कार्यक्रममा आएन। तर पत्रकारको आँखाले औल्याएको यथार्थमा आधारित भूल राज्यको निकायबाट छानबिन हुँदैन, यही छ बिडम्बना।

५. पत्रकारिता पेशाका चुनौती के के हुन् ?
व्यवसायिक हुन नसक्नु यसको मुख्य चुनौती हो। यसको अलावा स्थानीय सञ्चार माध्यम नहुनु पनि चुनौतीको रूपमा देखिएको छ। तर पत्रकारिता पेशा मात्र गरेर पत्रकारको पेट भर्न मुश्किल यहाँ पत्रकारिताको विकासमा देखिएका कठिनाइ र चुनौतीहरू हुन्। मैले माथि नै भनिसके पत्रकारितामा उजागर भएको तथ्यलाई कुनै पनि निकायले ध्यान दिँदैन।

६. पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नाको कारण के होला ?
पहिला पहिला पत्रकारको संख्या नै उत्पादन भएको थिएन। पहिले शिक्षाको पहुँच १२% थियो तर अहिले ६०% भन्दा बढी भइसक्यो। पत्रकारहरू पनि बढेका छन्। तर व्यवसायिक हुन सकेको छैन। पत्रकारिता पेशा व्यवसायिक हुने लक्षण भने रसुवामा देखिएको छ। स्थानीय पत्रपत्रिका लगायत सञ्चार गृहको अभाव नै पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नु हो।

७. रसुवामा पत्रकारिता पेशाको भविष्य कस्तो छ ?
राजधानीबाट नजिकैको दूरीमा रहेर पनि विभिन्न विकासका दृष्टिकोणबाट रसुवा पछाडी नै छ। पत्रकारिताको विकास विना यो सम्भव पनि छैन। रसुवा जिल्ला धार्मिक, पर्यटकीय, भौगोलिक हावापानी, जलसम्पदा, ऐतिहासिक हिसाबले धनी भएकोले पत्रकारिता पेशाको व्यवसायिक हुने सम्भावना धेरै छ। समग्र विषयवस्तुको खबरदारी गर्न पत्रकारिताको खाँचो पर्दछ। समाचारको माध्यमबाट बालबालिकाको मनोबल उच्च पार्ने, स्वास्थ्य सम्बन्धी सूचना प्रवाह गर्ने, विकासे पत्रकारिता गर्ने, विभिन्न स्थानमा हुने राजस्व चुहावट रोक्न सहयोग पुग्ने खालका सूचना संप्रेषण, पर्यटकीय विकास, सांस्कृतिक र आर्थिक विकासका लागि पत्रकारिता गर्नुपर्छ। व्यवसायिक र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट अगाडी बढ्न सके यहाँ धेरै पत्रपत्रिकाले स्थान पाउन सक्छ। पर्यटकीय हिसाबले तेस्रो स्थानमा रहेकोले पनि यहाँ पत्रकारिता लगायतका पेशाको प्रबल सम्भावना रहेको छ। पत्रकारिता पेशा र पत्रकारको भविष्य उज्ज्वल र सुनिश्चित छ।

८. असल पत्रकारमा कुन् कुन् गुण हुनु पर्छ ?
पत्रकारिता गर्ने मानिसमा गुण र धर्म अनिवार्य चाहिन्छ। धैर्यता, सहनशीलता, नम्रता, व्यवसायिकता, सहिष्णुता, समानता, सामाजिकता, निडरता, पेशा निरन्तरता जस्ता गुणहरू पत्रकारमा हुनु पर्दछ। जस्तोसुकै समाचारलाई पनि विकासमा जोड्ने कला पत्रकारमा चाहिन्छ। राजनीतिक दलबाट टाढा रहेमा मात्र पत्रकारले समाचार पाउँछ, साथसाथै समाचार वा घटनाले नै त्यस्तो पत्रकारको खोजी गर्दछ।

९. पत्रिकाको व्यवस्थापनको लागि के गर्नु पर्छ ?
पत्रिकाको कार्यालय व्यवस्थापन, ग्राहकमा सेवा, सुविधा, पाठक प्रतिक्रियाको सम्मान, तथ्य सामग्रीको उजागर र लगनशीलता जस्ता कार्यहरू व्यवस्थापनका निमित्त गर्नु पर्दछ।

१०. अन्तमा के भन्नुहुन्छ ?
रसुवाको जेष्ठ पत्रकार, पत्रकार महासंघको संयोजकको हैसियतले यहाँबाट प्रकाशन हुन लागेको रसुवा खबर साप्ताहिकको पूर्ण सफलताको कामना गर्दछु। आम रसुवाबासी नागरिकको पत्रिका बनोस्। रसुवाको समग्र विकासका लागि यस पत्रिकाले कार्य गर्न सकोस्, पत्रिका प्रकाशनको पूर्वाद्र्धमा यही शुभकामना दिन चाहन्छु।

रसुवा खबर, वर्ष १, अंक १ · असोज १६, २०६७ शनिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *