धार्मिक आस्था, जैविक विविधता र पर्यटकीय गन्तव्य : गोसाइँकुण्ड

त्रिशूलधाराको निर्मल जल, शिवको बासस्थान र विश्व सम्पदा सूचीमा सूचिकृत पवित्र ताल

गोसाइँकुण्ड — धार्मिक आस्था, जैविक विविधता र पर्यटकीय गन्तव्य

गोसाइँकुण्ड — लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पवित्र हिमताल

त्रिशूलधाराको निर्मल जल, सोही जलको सम्मिश्रण शंकरको बासस्थान गोसाइँकुण्डको दृश्यले सबैलाई लालायित बनाउँछ। एकातिर शिबलाई पाउन धेरै भक्तजन त अर्कोतिर मनमोहक दृश्यावलोकनमा आउने पर्यटक — सबैको लागि उपयुक्त गन्तव्य बनेको छ यो कुण्ड।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको गोसाइँकुण्डले विविध महत्व बोकेको छ। सोही विविधताभित्र गोसाइँकुण्ड सबैका लागि विश्वासको केन्द्रविन्दु बनेको छ।

पौराणिक कथा : त्रिशूल धाराको उत्पत्ति
सत्य युगमा देवता दानवको सागर मथनबाट निस्केको कालकूट विष खाएर दहन गर्न नसकी यहाँ आएका भगवान शिवले रिसाएर त्रिशूलले भूमिमा खोप्दा त्रिशूल धाराको उत्पत्ति भई त्यहीबाट बगेको पानी जमेर गोसाइँकुण्डको उत्पत्ति भएको पौराणिक कथन छ।
शिवको त्रिशूल धारा → पानी जमेर कुण्ड
धार्मिक दृष्टिकोणले गोसाइँकुण्ड अग्रस्थानमा छ
अमरसिंह थापा — नेपाली इतिहासका एक उदाहरणीय पात्रको देहवसान र ‘अमरसिंह गुफा’ गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ। गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन्। तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ।

“यिनै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ।”

एक सय आठ कुण्ड : प्रख्यात र लोपोन्मुख
पौराणिक कथनको विश्वासको आधारमा एक सय आठ कुण्डमध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन्। गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, सूर्यकुण्डलगायतका कुण्डहरू प्रख्यात रहेको छ।
गोसाइँकुण्ड
भैरवकुण्ड
सरस्वतीकुण्ड
गणेशकुण्ड
दुधकुण्ड
सूर्यकुण्ड
विविध महत्वका बीचमा रहेको गतलाङको पार्वतीकुण्ड, टिमुरेको रिभरकुण्ड, बृद्धिमको दुधकुण्ड अझै कुहिरोभित्रको काग बनिरहेका छन्। कुहिरोभित्र काग हराएझैं सम्पदा मात्र हराएका छैनन्, त्यहाँबाट आउने आर्थिक उपार्जन पनि हराइरहेका छन्। कतिपय कुण्ड संरक्षण अभावमा जलवायु परिवर्तनको असरले लोप हुनसक्ने अवस्थामा रहेका छन्।

संरक्षणको चुनौती : बोझो र जलवायु परिवर्तन
पछिल्लो समयमा बोझोद्वारा पुरिन लागेको पार्वतीकुण्डको संरक्षणका नवीन आवाजहरू पनि आउन थालेका छन्। तर, चुनौतिपूर्ण विषयहरू छन् ती खालका कुण्डको संरक्षणार्थ। एक त औषधीजन्य बोझोको बासस्थान रहेको छ, अर्को त धार्मिक विश्वास अनुसार कुण्डमा खन्न नहुने। जैविक विविधताको संरक्षणमा विश्वास राख्दा कुण्डको वरिपरिका वनस्पतिको संरक्षण अपरिहार्य छ। तर, ध्रुवसत्य कुरा — कुण्डको संरक्षण विना ती वनस्पतिको पनि संरक्षण सुनिश्चित हुँदैन। त्यसैले दुवै संरक्षणलाई ध्यानमा राखी संरक्षणमा इमान्दार प्रयासको खाँचो छ।
गोसाइँकुण्ड जस्ता तालहरू फुट्ने नभई सुक्न सक्छन्। नजिकै ठूलाठूला हिमाल भएको ठाउँमा हिमताल फुट्न सक्छ भने हिमाल नभएका ठाउँमा तालहरू सुक्न सक्छन्। गोसाइँकुण्डको वातावरण त्यति नबिग्रिएको कारण तत्काल नै संरक्षणका लागि ध्यान दिनसके खतरामुक्त हुनेछ।

रामसार क्षेत्र र व्यवस्थापन योजना
वरिपरिका वन्यजन्तु र प्राकृतिक स्रोत (जैविक विविधता) जोगाउँदै गोसाइँकुण्डको संरक्षण गर्नको लागि सन् २००६ को सेप्टेम्बर २२ मा विश्व सम्पदा सूची (रामसार क्षेत्र) मा सूचिकृत भएर अझ यस क्षेत्रले महत्वपूर्ण स्थान ओगटिरहेको छ।
रामसार क्षेत्रमा सूचिकृत
२२ सेप्टेम्बर २००६
हाल कार्यान्वयनमा रहेको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन योजनाले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई संरक्षण, विकास र प्रचारप्रसारमा सहयोग पुर्‍याउँदछ। ताल नरहे धार्मिक महत्व र वनस्पति, वन्यजन्तुको संरक्षण नभए पर्यटकीय महत्व घट्दै जान्छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेकोले हिमताल सुक्ने र फुट्ने हुनसक्छ।

आर्थिक महत्व र जीविकोपार्जन
धार्मिक, जैविक विविधता, ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक महत्वसँगसँगै गोसाइँकुण्ड क्षेत्रमा आर्थिक महत्व पनि त्यत्तिकै छ। तीर्थालु र पर्यटकहरूबाट यहाँ बास र गास वापतको रकम, गोसाइँकुण्ड क्षेत्र सुधारका लागि दिइएको चन्दा र विदेशी पर्यटकले ट्रेकिङ शुल्क वापतको रकम आर्थिक क्षेत्र विकासका लागि उल्लेखनीय माध्यम हुन्। यही क्षेत्रमा आएका विदेशी पर्यटकले छात्रबृत्ति दिएर यहाँका धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाइराखेका छन्। यही क्षेत्रबाट प्रत्यक्ष लाभ लिने धेरै स्थानीयहरूको उन्नती भएको पाइन्छ। पर्यटकीय क्षेत्र भएका कारण स्पोन्सर पाएर विदेशमा आफ्ना क्यारियर बनाउने संख्या पनि उल्लेख्य रहेको पाइन्छ।

“गोसाइँकुण्ड जस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूची वा रामसार क्षेत्रमा सूचिकृत भएको पनि सार्थक हुन्छ।”

पर्यटन · धार्मिक आस्था · जैविक विविधता
गोसाइँकुण्ड — लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *